म जिन्दगी गुडाइरहेछु
नारायणघाट-काठमांडूको सडक-खण्डहरुमा
अप्रत्यासित कालखण्ड
समय-चक्रको परिधिभित्र
म जिन्दगी घुमाइरहेछु
घर र र र र र र र र र र
छिनिदो स्वास फ़ुलाइरहेछु
म जिन्दगी गुडाइरहेछु !
ओछ्यान मेरो सडक, धुलो-हिलो
सिरानी मेरो सहरबासीका झुम्रा-झाम्रा
त्यागिएका धर्सा ओडीरहेछु
म जिन्दगी उडाइरहेछु
जुठानका सिता र कुकुरका गास
हवस मेरो भोकको
अनि खैरेको मायाको काख
मेरो बाच्ने आधार
सलबलाएका उसका औलाहरुसंग
मेरा शरीरको अङ्गहरु
उसका प्यास मेटीरहेछु
म जिन्दगी तिर्खाइरहेछु
म जिन्दगी गुडाइरहेछु !
पुलिसका लात्ती र बूटसंगै
म आफ्नै गर्जन पिइरहेछु
बिर्सेर सब व्यथा
म डल्ली, कान्छीका आँसु पुछिरहेछु
उसका कलिला, सलबलाएका ओठहरुमा
र नरम छातीहरुमा जीवन-दर्शन कोरिरहेछु
ति निर्दोष, भिजेका नयनहरुमा
म आफुलाई नियालिरहेछु,
आफुलाई खोजिरहेछु !
देश बोकेर हिड्ने भडुवाहरुलाई
चिल्लो गाडीमा सवारहरुलाई
मेरो नाममा खानेहरुलाई
विस्मित नजरले हेरिरहेछु
जिन्दगीको घृणित रुप हेरिरहेछु
जिन्दगी अल्मलाइरहेछु !
म जिन्दगी गुडाइरहेछु !
गम, रक्सी र ड्रग्सहरुमा
अनि, सडकमा फालिएका निर्जीव तर स्वास घिसारेका मुर्तिहरुसंग
लठ्ठारिदै, लड्दै जिन्दगीका पानाहरु भरिरहेछु
छयाप्प छ्याप छयाप्प ...
विडम्बना ! यो 'रमाइलो' को परिभाषाभित्र
आफुलाई अटाइरहेछु
लाशहरुसंग आफ्ना कैयन रात बिताइरहेछु
आफ्नो कथा भनिरहेछु
म जिन्दगी गुडाइरहेछु !!
थाहा छ ,
कुनै दिन म यहि सडकमा लम्पसार हुनेछु
थाहा छ,
यो जिन्दगी एकदिन गुड्न छोड्छ
बूट लात्ती एकदिन थाक्छन\
नगरपालिकाको गाडीभित्र म अटाउछु
पुलिस, दादा र विदेशीहरुको ममा चासो रहदैन
कठ्यांग्रिदो रातमा रगत तताउन
कुकुर मसंग लाडिन आउदैन
त्यो दिनको पर्खाइमा
जिन्दगी गुडाइरहेछु
अक्सिजनले फोक्सो फ़ुलाइरहेछु
गम, रक्सी र खैरेको संगतमा जिन्दगी उडाइरहेछु
एच आइ भी र के के जातिसंग सिन्गेजोरी खेलिरहेछु
म मेरा भनाउदाहरुलाई चुनौती दिदैछु
आफ्नो जिन्दगी अल्झाइरहेछु
........जिन्दगी गुडाइरहेछु !!!!
No comments:
Post a Comment