सोमबारको दिन । काठमाण्डौका गल्ली सडकहरु झरिले रुझेका थिए । कैयौ महिनाको पर्खाईपछि परेको पानी ।प्रचन्ड गर्मीबाट धेरै राहत भएको अनुभूति । झरि बाट जोगिदै.. हिड्ने बाटो खोज्दै एकसुरमा लम्कदै थिएँ।काठमाण्डौंको एउटा विद्ध्यालय बाट फर्कदैगर्दा को कुरो हो । त्यहाँका किशोर -किशोरीहरुका व्यक्त -अव्यक्तसमस्याहरुमा मन रुम्ल्लिदैं थियो । महाराजगन्जको चोकमा मलाई कुनै स्थानिय चारपाङ्रेमा चड्नु थियो - कार्यालय जानको लागि। अलि अगाडि एउटा बस लागेको देखे । त्यहाँ बस्ने सिट भएको नमानेर पछिल्तिरकोमाइक्रो बसमा चड्ने निधो गरे । यताउती पल्याक्पुल्लुक हेरें । त्यो पनि टन्न भा'को जस्तो लाग्यो । अब अर्कोविकल्पको खोजिमा मेरा आँखा भौतारिए । तर धेरै बेर दुख पाउनु परेन । आजभोलि जताततै माइक्रो भ'कोकारणले म जस्ता धेरैलाई बढी सजिलो भा'छ ।
एउटा हँसिलो ठिटो ' बालाजु .. कलंकी ... कलंकी' भन्दै कराई कराई मानिसरुलाई आफुतिर आकर्शित गर्ने प्रयासगर्दै थियो। लगभग २२-२५ को ठिटो सुकिलो रातो टि-शर्ट र घुडासम्मको हाफ पाइन्टमा कराउँदै थियो ।
मैले यसो माइक्रोभित्र सिट भा'को नभा'को भनेर चिहाएँ । भा'जस्तो मानेर अलि नजिक पुगे । त्यही बेलामामाइक्रोको त्यो हँसिलो केटो मलाई हेरेर हाँस्यो । त्यो मुस्कान साधारण नै ठानेर म पनि हाँसु कि नहाँसु किभनेजस्तो गरी हाँस्न पुगे । तर त्यो हाँसोले मलाई अनौठो अनुभव गरायो । किन किन त्यो आत्मिय लाग्यो ।लाग्यो यो मुस्कान मैले कतै देखेकी छु। कता, स्मरण भएन । छाता बन्द गरी माइक्रोको छेवैको उल्टोतिर् फर्केकोसिटमा बस्न पुगे-नजिकै ओर्लने हो भन्दै । त्यो केटोले अरुहरु मानिस आफ्नो माइक्रोमा तान्ने क्रम मै आफुलाईव्यस्त राख्यो ।
"एक्स्क्युज् मी, अलिकति पर सरिदिनुस्न दाइ"।
यो स्वरले मेरो ध्यान तान्यो । मेरा आँखा त्यतैतिर फर्किए । देखे -त्यो त माइक्रोको उही सह-चालक पो रहेछ।माइक्रोभित्र चिहायेर सिटमा बसेको मान्छेलाई अलि पर सर्नु भनेर अनुरोध गर्दै थियो। उसको यो लवज अँङ्रेजीजानेको मान्छेको जस्तो थियो। म छक्क परी उसलाई हेर्न पुगे। माइक्रोको केटोले यसरी अँङ्रेजीमा यति राम्रोउच्चारणले बोलेको सुनेको मैले पहिलो पटक थियो । उसको बोली सुन्ने बित्तिकै उसको आँखासँग मेरा आँखा जुध्नपुगे। उ मुसुक्क हाँस्यो; म पनि उसको हाँसोको प्रतिउत्तर नहाँसी रहन सकिन; म पनि हाँसे।
मलाई त्यो अनुहार, त्यो हाँसो चिरपरिचित लाग्यो। सम्झिने प्रयत्न गरे... तर सकिन । धेरै बल पनि गरिन ।माइक्रोभित्र अलिक मानिसहरु भए भन्ने कुरामा आश्वस्त भए जस्तो देखियो । केटोले ढोका बजारेपछि चालकलेगाडी कुदायो। केटो पनि गाडिभित्र खुम्चियो ... ठ्याक्कै मेरो अगाडी । आफ्नै धुनमा के के कुरामा अल्झदै थिएँ म।बेला बेलामा लाग्थ्यो - त्यो केटोले मलाई नै हेरिरहेको छ। अनि अलि असहज लग्यो। अनि सोधे आफैलाई - "मयो केटोलाई चिन्छु ?" तर स्पस्ट जवाफ पाइन । बाहिर सिमसिम पानी परि नै रहेको थियो । चारैतिर हरियालीथियो। गाडी रिङ्रोडमा हुइँकिदै थियो।
त्यसै क्रममा फेरि आँखा जुधे। यस पटक उसले सोध्यो नै " मलाइ चिन्नु भएन ?"
अब म सोच्न वाध्य भये, 'को हो यो? '
भने, 'त्यही सोच्दै छु, ठम्याउन सकिन'।
'हो र ? चिन्नु भएन ?'
मैले फेरि प्रश्नवाचक अनुहारले हेरे।
उसले सम्झिने मुद्रामा भन्यो '.... रेग्मी.. होइन ?'
मैले हो भनि टाउको हल्लाए . ... अनि अचम्भित् पनि भएँ।
"हामीलाई लगभग पुरै एकदिन तालिम दिनु भा'को होइन तपाईले ?" उसले फेरि थप्यो।
म झन् अचम्भित् भएँ, '.. मैले हँ... तालिम मा....'
अब भने मैले सम्झि नै पर्यो। बल लगाए सम्झिन। तालिम त धेरैलाई दिइयो, सबैलाई नसम्झे पनि अनुहारचिनेको जस्तो त लाग्छ यसो यदाकदा भेट हुँदा। " को हो यो ?" मेरो मस्तिकलाई अझै जोड् दिनु पर्ने भयो।
"साँचै चिन्नु भएन", अलि निराश भएर भन्यो । अब मलाई पनि आफ्नो यो मानिसहरुलाई बिर्सने बानीदेखि साचीनै रिस उठ्यो ।
"सम्झिनुस् त दिदी .... तृपुरेस्वर मा ...."
अब त झन अन्योलमा पो पार्यो त केटोले । तृपुरेस्वर मा? कुन चाँही तालिममा मैले यो केटोलाई भेटे हुँला ? मरणभुल्ल परे ।
टेम्पो- माइक्रोका ठिटाहरुलाई तालिम दिनुपर्ने कुरामा सोच त बना'का थियौ । तर त्यो त योजनामा मात्रै सिमितभाको छ। हैन यो मान्छे कहाँ कुन चाहीं तालिममा पुग्यो .. अब मैले जान्नु नै पर्ने भो।
"खै कता पो हो त!"
"भद्र", सुस्त स्वर् निस्कियो उसको मुखबाट ।
मैले दोहोर्याए "भद्र" ... यो 'भद्र' भन्ने को हो फेरि ! कुनै सीप लगेन । सम्झिदै सम्झिन ।
हाम्रो यति कुरा हुन्जेल सम्ममा सबै जना उत्सुक भयिसकेको पाएँ मैले।
अब चाहीं साँच्चै गार्हो भो मलाई पनि । बेसरी कसरत गरे; सम्झिन।
" वकिल सरहरुसँग आउनु भा'को होइन ? कस्तो नाम बिर्से सरहरुको..." उसले सायद अन्तिम पटक मलाईसम्झाउने प्रयत्न गर्यो ।
उसको यो प्रयास निरर्थक भएन ।
" ए ..अँ.... ल चिने..", म लगभग चिच्याएँ । मेरो स्वर यति ठुलो भएछ कि सबैले मलाई नै हेरिरहेको पाएँ ।
'वकिल ' भन्ने बित्तिकै मेरो दिमाग 'क्लिक्क्' गर्यो। बल्ल सम्झे। कुनै बालकले उसलाई मन परेको चिज पाएरखुशी भा'जस्तै म भएँ ।
"धेरै महिना भयो नि हगि" मैले भने, " धेरै मान्छेसँग एकैचोटि भेट्दा सबैलाई झ्वाट्ट सम्झिन अलि गार्हो हुन्छ; तर अनुहारले त चिनिन्छ", मैले आफ्नो सफाइ दिँदै भने ।
"त्यो हो नि" उसले कुरो बुझ्यो।
सम्झे - करीब ८ महिना अघि एउटा बन्दीगृहमा छुट्न लागेका बन्दिहरुसँगको कार्यक्रममा मलाई बोलाइएकोथियो- उनीहरुको भोलिको अन्योलपुर्ण दिनहरुसँग सम्बन्धित मनोवैज्ञानिक विषयमा कुरा गरेकी थिए । थुप्रैकथाहरु माझ उसको कथा यही हो भन्ने सम्झन त सकिन; साँच्चै भन्नु पर्दा अवश्यकता पनि देखिन।
मैले चिनेको देखेर उ औधि खुशी भयो।
"दुइ महिना भो काठमाण्डौ आ'को.. केही त गर्नै पर्यो।।"
उसले अफ्नो बारेमा आफै कुरो खोल्यो।
"हो त। धेरै राम्रो.. काम सानो ठुलो हुँदैन।" मैले आफ्नो बुज्रुकाइ झार्न पुगे.. आखिर पढाउने बानी न पर्यो ! यो बानीजसरी नि जहाँ नि आइहाल्ने रहेछ।
'त्यो दिन त बिर्सन सकिदैन - दिदिसँग गरेक कुराहरु.........."
उ भन्दै गयो। उसको आँखामा एउटा अनौठो चमक थियो। शायद त्यो बन्द कोठा बाहिरको चमक .. बाहिरी सन्सारहेर्न सकेको चमक..... आफ्नो परिवारसँग रहनुको चमक....
मलाइ देख्ने बित्तिकै उसको हासो शायद भन्दै थियो "... म बाहिर आए .. ममा फेरि जिउने चाह पलाएको छ आज .. म अब भरपुर जिउने छु.."
मलाई नै औधी खुशी लाग्यो उसलाई देखेर। केही बोल्न सकिन । अनायासै मुखबाट निस्कियो, " ल खुशी लाग्यो .... तिमीलाई देखेर । धेरै खुशी लाग्यो" उ मुस्सुक्क हाँस्यो .. त्यो मुस्कानमा गर्व थियो । खुशी थियो ।
मेरो ओर्लने बेला भइसकेको थियो ।
'ल है त' भनेर म ओर्ले । उसलाइ धेरै कुरा अरु भन्न मन लागेको भान भयो । उ पनि माइक्रोबाट ओर्लियो । कता होभनेर सोध्यो । मैले हातको ईशाराले बाटो देखाए । 'हस् त' भन्दै सलामको मुद्रामा हात उठायो । दाँया बाँया हेर्दै बाटोकाटे । पल्लो पट्टी गएर हेर्दा त्यो माइक्रो पर पुगिसकेको रहेछ । तर पनि मेरा आँखा अगाडी उसको त्यो मुस्कानआइनैरह्यो । मलाई पनि एक अनौठो सन्तोषको अनुभूति भयो ।
मनमा आइरह्यो - त्यो आँखाको चमक रहिनैरहोस् -फेरि उही कोठरीमा यो चमक नभिभोस्....त्यो मुस्काननहराओस् ।